स्थानियहरुको आय आर्जन बढाउन सुन्तलाका विरुवा वितरण

चरीकोट असार २६ गते  दोलखाको मेलुङ गाउँपालिकाले स्थानीयहरुको आयआर्जन बढाउन सुन्तलाका विरुवा वितरण गरेको छ । गाउँपालिकाको मूख्य बाली सुन्तला उत्पादन क्षेत्र वडा नम्बर १ पवटीका स्थानीयहरुलाई १२ हजार २६४ वटा सुन्तलाका विरुवा वितरण गरेको हो । सुन्तला पकेट क्षेत्रको रुपमा परिचित पवटीमा वार्षिक लाखौँ सुन्तला उत्पादन हुने गरेको छ । फलफुल खेतीबाट स्थानीयहरुलाई व्यवसायिक, आत्मनिर्भर बनाउदै आर्थिकस्तर वृद्वि गर्ने उदेश्यले सुन्तलाका विरुवा वितरण गरिएको मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार तामाङले बताउनुभयो ।स्थानीय महिलाहरुको समुह बनाएर विरुवा वितरण गरिएको उहाँले बताउनुभयो ।
स्थानीयहरुलाई विरुवा वितरण गदै उहाँले गाउँमै स्वरोजगार बनाउने अभियान सुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो वडा नम्बर १ पवटी जिल्लाकै सुन्तला उत्पादन बढि हुने क्षेत्र हो , यहाँका स्थानीय पहिलेदेखि नै सुन्तला खेती गर्दै आईरहेका छन । सो भेगका स्थानीइयहरुलाई जीविकोपार्जन र आयआर्जन जोडेर व्यवसायिक रुपमै सुन्तला खेतीप्रति आकर्षित गर्नको लागि उत्कृष्ट किसानलाई सम्मान गर्ने गाउँपालिका योजना रहेको छ । आगामी दिनमा पवटीबासीलाई समूहमा आवद्ध गर्ने र आयमूलक कार्यक्रममा जोड दिने मेलुङ गाउँपालिकाले जनाएको छ । स्थानीय लाई वितरण गर्न धनकुटाबाट ल्याईएको विरुवाले भएकाले ३ वर्षभित्रै कृषकलाई सुन्तलाले आम्दानी दिने विश्वास लिईएको गाउँपालिकाकी उपाध्यक्ष गायत्री आचार्यले बताउनुभयो ।

सुन्तला उत्पादनका लागी यस क्षेत्रको हावापानी उपयुक्त छ , यहाँ सुन्तला लगाएपछि बाझो जमिन प्रयोगमा आएको छ। कम मेहनेतमा पनि राम्रो आम्दानी गर्न सकिने हुँदा पछिल्लो समय किसान सुन्तला खेतीतर्फ आकर्षित भएका उपाध्यक्ष आचार्यले बताउनुभयो ।
सुन्तलाको विरुवा रोपेको ३ वर्षपछि फल्ने गर्छ । सुन्तला लाई मल जल गर्न सकेमा २० वटा बोटले वार्षिक २ लाख आम्दानी दिन सक्छ । गाउँपालिकाले नागरिकलाई आम्दानीसँग जोडिनको लागि भूगोल सुहाउदो खेती प्रणालीलाई प्राथमिकता दिएको गाउँपालिकाले जनाएको छ । अहिले पवटीबाट वार्षिक करोडौको सुन्तला निर्यात हुने गर्दछ ।

Back to top button