
चरीकोट, असार २४ गते
जिल्लाका सामुदायिक विद्यालयहरु असार ७ गते देखि एक महिना सम्म बिदा छन । बिदा भएसँगै जिल्लाबाहिर शिक्षक तथा विद्यार्थी विदा मनाउन घर गएका छन । बाकी शिक्षक तथा विद्यार्थी खेती किसान लगायत आ आफ्नो काममा व्यस्त छन । तर दोलखाको एक सामुदायिक विद्यालयमा वर्षे बिदामा पनि नियमित पढाई भईरहेको छ । विद्यार्थीको पढाई लाई असारे झरीले पनि रोकेको छैन । बाल कक्षा देखि कक्षा ६ सम्मका विद्यार्थी नियमित विद्यालय आईरहेका छन । वर्षे बिदामा खुल्ला रहेको विद्यालय हो दोलखाको तामाकोसी गाउँपालिका २ झुलेमा रहेको जनप्रभात माध्यामिक विद्यालय । सो विद्यालयमा नियमित पठनपाठन भईरहेको छ ।
शिक्षण सिकाईलाई प्रभावकारी बनाउन बिदामा पनि पठनपनाठन संचालन गरिएको विद्यालयका प्रधानाध्यापक गायत्री शिवाकोटीले बताउनुभयो । एक महिना लामो बिदामा विद्यार्थी पढाई भन्दा अन्य कुरामा समय खर्चिने भएकाले नियमित कक्षा संचालन गरिएको उहाँले बताउनुभयो । माथिल्लो कक्षामा विषयगत शिक्षक नभएकाले कक्षा संचालन गर्न नसकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, माथिल्लो कक्षाका विषयगत शिक्षक बिदामा घर जानुभएको छ । उहाँहरुलाई घर नजानु पनि भन्न मिलेन, सोही कारण माथिल्लो कक्षा बिदामा संचालन गर्न सकिएन । प्राथमिक तहका शिक्षकहरु सँग विद्यालय संचालनको प्रस्ताव गर्दा हुन्छ भन्ने जवाफ आएकाले विद्यालय संचालन गरिएको उहाँको भनाई छ । स्थानीय शिक्षक भएका कारण बिदामा विद्यालय संचालन गर्न सहज भएको उहाँले बताउनुभयो । प्रधानाध्यापक शिवाकोटी बाहेक विदामा पढाउने सबै शिक्षक स्थानीय हुन।
बिदामा पढाउने शिक्षकलाई थप कुनै सुविधा नभएको विद्यालयले जनाएकाृृ छ । पछि कतैबाट बजेटको व्यवस्था भए सामान्य खर्च दिने विद्यालयको योजना रहेको छ ।
कक्षा १० सम्म पठनपाठन हुने सो विद्यालयमा १ सय ८० जना विद्यार्थी रहेका छन । हाल कक्षा ६ सम्मका ६८ जना विद्यार्थी नियमित विद्यालय आईरहेको विद्यालयले जनाएको छ । ७ वर्षदेखि महिलाको नेतृत्वमा संचालन हुदै आएको सो विद्यालयको शैक्षिक अवस्था पनि सुधार हुदैँ गएको छ ।
महिलाले विद्यालयको नेतृत्व हातमा लिएपछि यो विद्यालयको अवस्था पनि फेरिएको छ । भनिन्छ नि ‘महिलाले धानेको घर व्यवस्थित हन्छ’। यो विद्यालय पनि महिलाको हातमा आएपछि व्यवस्थित बन्दै गएको अभिभावकहरु बताउनुहुन्छ ।
शैक्षिक गुणस्तरमा सुधारमात्र होइन, विद्यालयको बाहिरी व्यवस्थापन पनि हेर्न लायकको भएको छ । सरकारी स्कुल भन्दै वास्ता नगर्ने अभिभावक पनि अहिले विद्यालयको क्रियाकलापप्रति चासो राख्न थालेका छन्। वालमैत्री कक्षा कोठा रहेका छन । कक्षा कोठा पूरै छापामय छन । भित्तामा शैक्षिक सामग्री टाँसिएको छ । कक्षा कोठाभित्र बालबालिका स्वतन्त्र रूपमा पढ्छन् । महिला भएकै कारण बालबालिका आफ्नो समस्या पनि खुलस्त भन्न सहज भएको वडा अध्यक्ष इश्वरराज कार्किले बताउनुभयो।
माध्यामिक तहमा महिलाले नेतृत्व गरेको गाउँपालिकाको पहिलो विद्यालय रहेको तामाकोसी गाउँपालिकाले जनाएको छ।






