
चरीकोट,साउन १० गते
दोलखा गाउँपालिका –४ मालुका बृद्धबृद्धा र अपाङ्गलाई जाडोमा तातो पानी खान पानी तताउने विद्युतिय जग बितरण गरिएको छ। वडा कार्यालयमै मंगलबार आयोजित एक कार्यक्रममा सामाजिक सुरक्षा भत्ता सँगै लक्षित समूहलाई विद्युतीय जग बितरण गरिएको हो।
जाडो मौसममा बृद्धबृद्धालाई तातोपानी पिउनुपर्ने हुँदा त्यसलाई सहज बनाउन विद्युतीय जग प्रदान गरेको तामाकोसी गाउँपालिका –४ मालुका वडाध्यक्ष नारायण खड्काले बताउनुभयो । उहाँले बताउनुभए अनुसार वडाभित्र रहेका जेष्ठ नागरिक, अपाङ्गता भएकाहरु, सो सामग्री प्रदान गरिएको हो। वडाको बजेटबाट सो कार्यक्रम सञ्चालन गरेको र वडाभित्रका २ सय ३० जनालाई जग वितरण गरिएको वडा अध्यक्ष खड्काले बताउनुभयो ।
जग शारीरिक, मानसिक क र ख वर्गका अपाङ्गता भएका व्यक्तिहरु,७१ वर्षमाथिका जेष्ठ नागरिकलाई वितरण गरिएको हो। चिसोबाट बच्न उहाँहरुलाई जग उपलब्ध गराइएको उहाँले बताउनुभयो ।
मापदण्ड पुगेका सबै लक्षित बर्गलाई सामग्री वितरण गरिएको बताउँदै कोही छुटेमा पुनः वितरण गरिने बताउनुभयो सामान दिएपछि बृद्धबृद्धा र अशक्तहरु परिवारका सदस्यबाट २५ घण्टै रेखदेख गर्नुपर्ने समस्या हट्ने उहाँको भनाइ छ।
कतिपय जेष्ठ नागरिकहरु परिवारबाटै पनि अपमानित र अपहेलित भएर बस्नु पर्ने बाध्यता रहेको जानकारी आफूलाई आएको बताउदै उहाँले सामान्य पानी तताएर खुवाउने निहुमा पनि परिवारमा विवाद र झगडा हुने डरले कतिपय बृद्धबृद्धा चिसो पानी नै खाने गरेको उहाँको भनाइ छ । कामको चाप, व्यवहारिक समस्या र विभिन्न कारणले यस्तो समस्या परिवारमा हुनु स्वभाविक भएको भन्दै उहाले भन्नुभयो, त्यस्तो समस्याबाट मुक्ति पाउन यो सामग्री उपयोगी हुने वडाले बिश्वास लिएको छ ।






